निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै

रिपोर्ट नेपाल | 2022 Oct 13 | 07:28 am 1829

काठमाडौँ, असोज २७ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा गएका हुन्।

उनी वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा–२ र काठमाडौँ–१०, २०७० को संविधान सभा निर्वाचनमा काठमाडौँ–१० र सिरहा–५ तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका थिए। उनले निर्वाचन क्षेत्र परिवर्तन गरेपछि यस विषयमा बहस पनि भइरहेको छ।

प्रमुख राजनीतिक दलमध्ये प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गर्नेमा प्रचण्ड नै प्रमुख छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८, २०५१ र २०५६ मा गृह जिल्ला डडेल्धुराबाट उम्मेदवार थिए। डडेल्धुराका अतिरिक्त २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट उम्मेदवार थिए। यस्तै २०७४ मा गृह जिल्ला डडेल्धुराबाट उम्मेदवार बनेका उनले यस पटक पनि डडेल्धुरा नै रोजेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनावी प्रतिस्पर्धामा छन्। २०५६ मा रौतहटको १ र ४ बाट विजयी नेपाल २०६४ मा भने काठमाडौँ–२ र रौतहट–४ बाट पराजित भएका थिए। २०७० मा काठमाडौँ–२ र रौतहट–४ बाट विजयी भएका थिए। अहिले उनी पुनः गृह क्षेत्र रौतहट–१ फर्किएका छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनाल २०७० मा इलाम र सर्लाहीबाट पराजित भएका थिए।

गृह जिल्ला छाडेर अन्यत्र जाँदा पाहुनाको ‘ट्याग’ लागे पनि निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको सङ्ख्या उल्लेख्य छ। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगर, कांग्रेसकै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, पूर्वमन्त्री तथा एमाले नेता अग्निप्रसाद खरेल, सत्तारूढ गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता अनिलकुमार झाले पनि निर्वाचन क्षेत्र परिवर्तन गरी उम्मेदवारी दिएका छन्। गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.