निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

रिपोर्ट नेपाल | 2022 Sep 26 | 07:37 am 1177

काठमाडौं, असाेज १०ः ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्राप्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २७ भदौको निर्णय तथा प्रधानमन्त्रीको २७ भदौको पत्रका आधारमा निर्वाचन कार्यमा सेना परिचालन गर्न स्वीकृति प्रदान भएको हो ।

सरकारले निर्वाचनका लागि ७५ हजार सेना परिचालन गर्नेगरी तयारी गरेको छ । सेना निर्वाचनको सुरक्षामा बाहिरी घेरामा रहनेछ । यसैगरी, सबैभन्दा भित्री घेरामा नेपाल प्रहरीको सुरक्षा समूह खटिनेछ । नेपाल प्रहरीबाट ६५ हजार हाराहारीमा सुरक्षाकर्मी खटाउनेगरी तयारी भइरहेको छ । नेपाल प्रहरीसँगै व्यवस्थापकीय काममा १ लाख १५ हजार म्यादी प्रहरीसमेत परिचालन हुनेछन् ।

यसैगरी, विशेष निगरानी तथा गोप्य सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागबाट १५ सय सुरक्षाकर्मी खटाउनेगरी तयारी भइरहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.