कञ्चनपुर, भदौ ९ः निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ। उनीहरु दिदी बहिनी हुन् ।
भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन्।
निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् ।
यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन।
दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन्।
निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।
भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।
दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन । अब अनुसन्धान प्रकृयालाई अघि बढाइने भएको छ। दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।