निर्मला हत्या प्रकरण : प्रदर्शनमा विद्यार्थी उत्रिए, दोस्रो दिन पनि बजार बन्द

| 2018 Aug 22 | 03:34 pm 2870

कञ्चनपुर, भदौ ६ : कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै बुधबार पनि आन्दोलन जारी राखेका छन् । सोमबार साँझ प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा आन्दोलन चर्किएको हो ।

प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारणले गरिरहेको प्रदर्शनमा विद्यार्थी पनि सहभागी भइरहेका छन् ।

बुधबार पनि महेन्द्रनगरमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरिरहेका छन्। बजार र यातायात बन्द गराएर स्थानीयले बजारको चोक चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्। व्यवासायीहरु स्वस्फुर्त रुपमा बजार बन्द गरेर आन्दोलनमा होमिएका छन्। प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भएको छ।

कञ्चनपुर गेट अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले बुधवार ५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । महेन्द्रनगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १०–१५ वर्षका विद्यार्थी प्रहरी प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीविरुद्ध नारावाजी गर्ने ३–४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको प्रदर्शनकारीले जनाएका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै नारावाजी गर्ने विद्यार्थीलाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको जनाइएको छ ।

साउन १० मा भीमदत्त नगरपालिका २ उल्टाखामिक १३ वर्षीया किशोरीको वलात्कारपछि हत्या भएको थियो। उनको शव सोहि नगरपालिकाको वडा नं। १८ को निम्बुखेडास्थित उखुबारीमा भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.