काठमाडौँ : कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन् । निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो ।
बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार कारबाहीमा पर्नेहरुमा एकजना एसपी, दुईजना डिएसपी, तीनजना इन्स्पेक्टर, चारजना सई, तीनजना हवलदार र पाँचजना सिपाहीँ रहेका छन् ।
कारबाहीको सिफारिस गरिएकाहरुमा एसपी विष्ट, जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी रहेका छन् । त्यसैगरी इन्सपेक्टरहरुमा वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख जगदीश भट्टलाई पनि दोषी देखाउँदै समितिले कारबाहीको सिफारिस गरेको छ । त्यसैगरी इन्सपेक्टरद्वय एकिन्द्र खड्का र गणेश सापकोटा पनि कारबाहीमा पर्ने भएका छन् ।
निर्मल प्रकरणको अनुसन्धानमा लापरबाही गर्नेहरुमा सईतर्फ रामसिंह धामीसहित चारजनाको नाम समितिले कारबाहीका लागि सिफारिस गरेको छ । त्यसैगरी तीनजना हवलदार र पाँचजना सिपाहीँको पनि यो प्रकरणमा गल्ती औँल्याउँदै समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ ।