निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको छ : सभापति देउवा

| 2018 Nov 22 | 03:55 pm 1674

भैरहवा, मंसिर ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको  बताएका छन् । बिहीबार भैरहवामा आयोजित नेपाली कांग्रेस महासमिति बैठकका सन्दर्भमा राजनीतिक एवं मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् ।

आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु आफू विरुद्ध उत्रिए पनि अधिनायकवादतिर लम्किरहेको केपी ओली नेतृत्वको सरकार विरुद्ध उनीहरु चुइक्क समेत नगरेको भन्दै रुष्ट भए ।  ‘मुलुकमा हत्या बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै छ । निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको छ, तर पनि हाम्रा नेताहरु सरकार गलत कदम प्रति बोल्न सकेका छैनन् ।’ उनले भने, ‘अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ?’

उनले पार्टीका केही नेताहरु सरकारको गलत कदम विरुद्ध चुइक्क नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताए ।  उनले भने, ‘नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपालले बोले जति हिम्मत हाम्रो नेताहरुमा छैन । नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ?’

सरकारले मुलुकमा महंगी, कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको बताउँदै सभापति देउवाले केपी ओलीको नाम ‘करप्रसाद ओली’ राख्नुपर्ने ब्यंग्य गरेका थिए । सरकार अधिनायकवाद तिर लम्किरहेकोले आफुहरु एक भएर अघि नबढे मुलुक संकटमा पर्ने उनले बताएका थिए । साथै कम्युनिष्ट सरकार विरुद्ध अन्तिम लडाईँ लड्नुपर्ने अवस्था आएको पनि उनकाे भनाइ थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.