निर्मला पन्त हत्या प्रकरण : ५६४ राउण्ड अश्रुग्यास, अश्रुग्यास सकिएपछि गाेली अनि कर्फ्यु !

| 2018 Aug 24 | 08:30 am 2625

भीमदत्तनगर,  भदौ ८  : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर बिहीबार दिनभर अशान्त रह्याे ।

ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । त्यति अश्रुग्यास प्रहार गर्दा पनि भीड नियन्त्रणमा अाउन नसकेपछि प्रहरीले गाेली नै चलायाे, गोली र छर्रा लागि घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ ।

कर्फ्यु जारी

जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि आज बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कफ्र्यु जारी गरिएकाे थियाे ।

कफ्र्यु लागेपछि नेपाली सेनाको भरतपुर ब्यारेकका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कफ्र्यु जारी गरिएका क्षेत्रमा गस्ती थालेका छन् । झडपका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्घर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन् । तीन दिनदेखि भीमदत्तनगर बजार बन्द छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.