निर्मलाका मामा र नेपाली सेनामाथि पनि अनुसन्धान गर्न माग

| 2018 Oct 05 | 03:05 pm 2264

काठमाडौं, असोज १९ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बालात्कारपछि हत्या प्रकरणमा मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । नेपाल मानव अधिकारी संगठनले प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको हो ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दावी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरे।

घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

संगठनले भनेको छ, उनीहरु उपर ठोस र प्रभावकारी अनुसन्धान भएन । मानव अधिकार संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सुनाएको छ ।

उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कारबाही गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.