निर्मला पन्त हत्या प्रकरण : झन् चर्कियो आन्दोलन, प्रहरीको गोलीबाट १ को मृत्यु ,कर्फ्यू जारी

| 2018 Aug 25 | 07:21 am 2657

कञ्चनपुर, भदौ ९ :  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै आन्दोलन झनै चर्किदै गएको छ । शुक्रबार महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक बालकको ज्यान गएको छ, भने २४ जना घाइते भएका छन्  ।

भीमदत्त नगरपालिका–१८ सालघारीका १७ वर्षीय सन्नु खुनाको मृत्यु भएको हो । घाइते हुनेमा भीमदत्त नगरपालिका–२ भाँसीका ३२ वर्षीय किशोर जोशी, शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय चेतराज भट्ट, भीमदत्त नगर, १८ सालघारीका १८ वर्षीय मनोज विष्ट, खैरभट्टीकै ३५ वर्षीय रमेश साउद, भीमदत्त नगर–१८ निम्बुखेडाका ४२ वर्षीय धनश्या पन्त, निम्बुखेडाकै १५ वर्षीय पदमसिंह विष्ट, महाकाली नगरपालिका दोधाराका ४३ बर्षिय वीरबहादुर सिंह, भीमदत्त नगर–२ भाँसीका २० वर्षीय हिमान्सु भट्ट, भाँसीकै ४१ वर्षीय प्रेम ठाकुर, २८ वर्षीय जितेन्द्र श्रेष्ठ रहेका छन्   ।

भीमदत्त नगरपालिका–१८ रोरख रौले, भीमदत्त नगर १८ जानकी टोलका १९ वर्षीय मानसिंह रावत, भीमदत्त नगर १५ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्त नगर महेन्द्रनगरका सागर विष्ट, दिल विष्ट, भीमदत्त नगरपालिका, ४ का २४ वर्षीय मनोज खडका, भीमदत्त नगरपालिका, १८ जानकी टोलका १३ वर्षीय युवराज भट्ट, १७ वर्षीय चेतराज भट्ट, भीमदत्त नगर, २ भाँसीका उमेश देउवा, शुक्लाफाँटा नगरपालिका, १० झलारीका १५ वर्षीय दामोदर खाती, २२ वर्षीय कविन्द्र सिंह, भीमदत्त नगर–१८ का २३ वर्षीय सगुन सुवेदी, बेदकोट नगर, १० लालपुरका ३१ वर्षीय ईश्वर जोशी, महाली नगरपालिका–९ दार्चुला दत्तुका १७ वर्षीय वीरेन्द्र नागरी रहेका छन् ।

मेयरको घर र प्रहरी कार्यालयमा तोडफोड

निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत समूहले शुक्रबार कञ्चनपुर भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेको छ ।

प्रदर्शनकारीले मेयरको घरमा तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेका थिए । तर प्रहरी टोलीले आगजनी हुनबाट भने रोकेको थियो । प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ ।

कर्फ्यु अनिश्चितकालीन

स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । प्रशासनले पूर्व भीमदत्त नगरपालिका–१८ भाँसी चोक हुँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहरपछाडि, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिपुरा युवा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निंगलासैनी माविको पछाडिको नहरसम्म, उत्तर भीनपा–२ भाँसीदेखि भीनपा–६ खैरेनी हुँदै त्रिपुरा क्लबसम्म र दक्षिणमा भीनपा–१८ मदन स्मृति प्राविको नहर हुँदै निंगलासैनी माविपछाडिको नहरसम्म कर्फ्यु लगाएको छ ।

आज माइतीघरमा विरोध प्रदर्शन

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।

#JusticeforNirmala को प्रयोग गरेर फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले शनिबार दिउँसो १२ बजे माइतीघर मण्डलामा बलात्कारको विरुद्ध आवाज उठाउन सर्बसाधारणलार्इ अपिलसमेत गरेका छन् ।

साथै बलात्कार र निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शिल्पी थियटरका कलाकारहरुले नाट्य कला प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको कलाकार घिमिरे युवराजले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.