धनगढी, पुस १२ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्त सरकारमा संलग्न र उच्च पदस्त व्यक्तिका छोरी के हुन्थ्यो? भनेर प्रश्न गरेका छन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाण्डले ‘ओलीजीकै छोरीलाई त्यस्तो भएको भए ओलीजी के गर्नु हुन्थ्यो? बादलजीकै छोरीलाई त्यस्तो परेको भए बादलजी के गर्नुहुन्थ्यो। प्रचण्डकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो होला। शेरबहादुरकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो?’ भन्दै प्रश्न गरेका हुन् ।
प्रकाण्डले अहिलेका नेताहरू र शासकहरू जनताको गार्जेन नभएकाे बताए । उनले वर्तमान सरकार हटाउने चलखेल भइरहेको समेत बताए।
सरकारले निर्मलाका हत्यारालाई कारबाही गर्न नसकेकाे र आफ्नो पार्टीले कारबाही गर्ने बताए। ‘यो अब सरकारको बसमा छैन, सरकारले गर्ने भए अहिलेसम्म गरिसक्थ्यो। अब यो जनताको बसमा छ’ उनले भने, ‘जनताको पहलकदमीमा, पार्टीको नेतृत्वमा यो घटनाको सत्यतथ्य जनताको बिचमा ल्याएर पार्टीले कारबाही गर्छ गर्छ। यत्ति लेखिराख्नुस्, टाइममात्रै दिनुस्।’
भारत र अमेरीकासँग वर्तमान प्रधानमन्त्री केपी ओलीको नमिलेका कारण यस्तो चलखेल सुरु भएको उनले बताए। ‘इन्डिएन र अमेरिकासँग केपीजीको मिलेको रहेनछ भन्ने त देखियो नी त! त्यो किन मिलेन? त्यो उहाँले भन्दै जानुहोला ।
त्यही कारणले गर्दा सरकारलाई त हटाउन थालेका छन्’ प्रकाण्डले दोहोराए, ‘हटाउन थालेका छन्। त्यो मैले उहाँहरूको संसदीय खेलभित्रको कुरा गर्या।’ उनले वर्तमान सरकार स्थायी हुन नसक्ने दाबी गरे। उनले भने, ‘५ वर्ष त टाढाको कुरा भयो, एक बर्ष पनि जाँदैन । यो खेल भएको छ ।’
अहिलेको सरकार विगठन गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी गरेका छन्। उनले संसदवादी दल र तीनका नेताहरू विदेशी शक्ति केन्द्रको गोट्टी भएको आरोप लगाए।