निर्मला पन्तका बलात्कारी पत्ता लगाउन नसक्नु सरकारको बेइज्जत : अध्यक्ष केसी

रिपोर्ट नेपाल | 2018 Sep 14 | 07:11 pm 2486

कञ्चनपुर, भदौ २९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु नेपाली जनता र सरकारको बेइज्जत भएको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा अखिल छौठौंको जिल्ला अधिवेशनको उदघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष केसीले उक्त कुरा बताएका हुन् ।

उनले सरकारका रवाफ, खुबी र चरित्र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए । ‘सरकार मात्रै होइन कञ्चनपुरका जनतालाई पनि अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ,’ अध्यक्ष केसीले भने, ‘यति शक्तिशाली सरकारले अपराधी पत्ता लगाउन नसक्नु नेपालीको बेइज्जत भएको छ ।’ उनले मागेर न्याय नपाइने भएकाले लड्नुपर्ने र यसका लागि जनमोर्चा सधैं कञ्चनपुरवासीको साथमा रहेको बताए ।

‘सरकार सञ्चालन गर्ने भन्दा अहिले बलात्कारी बलिया भएका छन्,’ अध्यक्ष केसीले भने, ‘जसको आफन्त फसोस, जसको सिंहासन खोसिने अवस्था आओस हत्यारा पत्ता लगाउनैपर्छ ।’ उनले अबोध बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पनि अपराधी पत्ता लगाउन नसक्ने सरकारले नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.