निजामती विधेयकः अझै संशोधनका विकल्प रहेको आन्दोलन जरुरी नरहेको

रिपोर्ट नेपाल | 2020 Jul 02 | 09:09 am 1939

काठमाडौं, असार १८ः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक बहुमतका अधारमा पारित गरेपछि कर्मचारी आन्दोलित भएका छन् ।

संघीय कर्मचारीको सेवासम्बन्धी व्यवस्थालाई नियमन गर्न बनेको विधेयक संसदीय समितिले पारित गरे पनि संशोधनका विकल्प रहेकाले आन्दोलन जरुरी नरहेको समितिकै सदस्यले बताएका छन् ।

संसदीय समितिले सोमबार बहुमतका आधारमा पारित गरेपछि बुधबारको प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्ने तयारी भए पनि हुन सकेन ।

आगामी २२ असारमा प्रतिनिधिसभामा पेस गर्ने प्रस्ताव कार्य व्यवस्थामा पुगेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा समितिको प्रतिवेदन पेस भएपछि छलफल हुनेछ ।

छलफलमा सांसदले संशोधनका प्रस्तावसमेत पेस गर्न सक्नेछन् । प्रतिनिधिसभाले विधेयक पारित गरेपछि राष्ट्रियसभामा प्रस्तुत हुनेछ । राष्ट्रिय सभामा विधेयक पुगेपछि सभाले राष्ट्रिय सभाका विधायन समितिमा छलफलका लागि विधेयक पठाउने व्यवस्था छ ।

राष्ट्रिय सभाले समितिमा पठाएपछि विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरू संशोधन दर्ता गरी छलफल गरेर कर्मचारीले उठाउँदै आएको विषय समेट्न सक्ने व्यवस्था छ ।

कर्मचारीले अहिले नै विरोध गर्नुभन्दा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिमा समेत आफ्ना मागको विषयमा छलफल गरी संशोधन गराउन सक्नेछन् । कर्मचारीको आन्दोलनका विषयमा राज्य व्यवस्था समितिका सांसदले संशोधनका विकल्प खुला भएको भन्दै त्यसमा छलफल गरेर जान सुझाव दिएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.