निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम

| 2021 Sep 08 | 07:16 am 2713

काठमाडौंँ, भदौ २३ः कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताए ।

पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भने, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।” अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए । पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएको बेला निकै गाह्रो भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उनी बताउँछिन्, “निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।”

कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिए । धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ ।

छाला रोग विशेषज्ञहरूले पछिल्लो समय ३८ देशका हजारभन्दा बढी बिरामीमा गरेको अध्ययनमा कोभिड सङ्क्रमण निको हुँदै गरेका व्यक्तिमा कपाल झर्ने मुख्य समस्या देखिएको जनाएका छन् ।

यता बी एन्ड बी अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले कोरोना सङ्क्रमितले चाँडै उपचारमा ध्यान नदिँदा पोस्ट कोभिडका बिरामीको सङ्ख्यामा वृद्धि हुने गरेको बताउँदै पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.