नारायणहिटी संग्रहालयकाे प्रवेशद्वार रङरोगन र जीर्णोद्धार कार्य सकियाे

रिपोर्ट नेपाल | 2020 Sep 17 | 08:13 am 2815

काठमाडाैं, असाेज १ः शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन र जीर्णोद्धार कार्य सकिएको छ ।

गत वर्ष गठित नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बृहत् योजनासहित निर्माण कार्यलाई तीव्रता दिएको हो । जीर्णोद्धार सकेर संग्रहालय खुला हुन अझै केही महिना लाग्ने भएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय लकडाउन भएयता बन्द छ ।

यो ऐतिहासिक दरबारको दक्षिण मोहडाको प्रवेशद्वारलाई गौरीशंकर ढोका भनेर चिनिन्छ । सम्पदाजन्य स्वर्ण, चाँदीजडित यमानको गौरीशंकरद्वार झलक्कै देखिन्छ । ढोकासम्म पुग्न शिलाबाट बनेका खुड्किलाहरूको दायाँबायाँ लहरै राखिएका सिंह, हात्ती, घोडा, मयुर र माछाको मूर्ति गाढा कालो रङमा टल्किएका छन् ।

दरबारको हरेक द्वार तथा ढोकाहरूको नाम हिमालको नामबाट राखिएका छन् । त्यसैगरी कोठा तथा कक्षहरू जिल्लाका नामबाट चिनाइएका छन् । ती कक्षहरू फरक–फरक विशेषताका छन् । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.