काठमाडौँ २६ जेठ / नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान नसके पनि २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हाराहारी हुने गर्दथे।
नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौँ आउँदा पनि १३ घण्टा समय लागेको उल्लेख गर्दै उनले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा जोड दिए ।
लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट-बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ ।
सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढ्ने उनले बताए ।