नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरो

रिपोर्ट नेपाल | 2025 Sep 21 | 11:57 am 733

काठमाडौँ ५ असोज / चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-५ मा पर्ने तुइन ख‍‍ो‍लामा शुक्रबार साँझ खसेको पहिरो सफा नहुँदै शनिबार बिहानैदेखि ठूल‍ो पहिरो खसेपछि बाटो दिनभर खुलेन ।

गत शुक्रबार इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा पहिरो जाँदा बन्द भएको बाटो अहिलेसम्म पनि खुलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हिजो ६ घण्टाभित्र सडक सुचारु हुने बताएकोमा लगातार खसिरहेको पहिरोले काम रोकिएको छ ।

‘पहिरो गएको गयै छ । पहिरो रोकिनेबित्तिकै काम थाल्छौं, फेरि रोक्छौं । आज दिँउसो २–३ बजेसम्म सडक खुल्ला’, उनले भने । पहिरोका कारण सवारी आवागमन बन्द भएपछि डिभिजनले वैकल्पिक रुटबाट यात्रा गर्न आग्रह गरेको छ ।

साना गाडीहरु दुई वटा वैकल्पिक रुटमार्फत काठमाडौं भित्रिरहँदा यात्रुवाहक र मालवाहक सवारी ३६ घण्टादेखि जाममा छ । जिल्ला प्रशासन कार्यालय, चितवन र जिल्ला प्रहरी कार्यालयले सडकमा अलपत्र परेका चालक र यात्रुलाई खाना बाँड्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.