नाबालकको अपहरणपछि हत्या

रिपोर्ट नेपाल | 2018 Jun 11 | 11:36 am 3261

रौतहट,जेठ २८ : अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ ।

रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।

अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

पक्राउ परेकाको बयानको आधारमा नाबालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराए ।

हत्याको कारण भने खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

शनिबार राति नाबालक युवराज साह खान पिन गरेर आफ्नै घरमा सुतिरहेका थिए । आइतबार बिहान ढिलै गरी उनका दाजु निरञ्जन साह मोबाइल खाेज्दै भाइ सुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युवराज बेपत्ता भएको चाल पाएका थिए ।

नाबालकका साथ सञ्चालनमा रहेको उक्त मोबाइलमा दुईवटा सिम रहेको थियो । मोवाइलमा नेपाल टेलिकमको ९८५५०२८३०६ र एनसेलको ९८१९२८७०० नम्बरको सिम रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.