नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

| 2022 Sep 29 | 07:44 am 1401

काठमाडाैं, असाेज १३ः सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।

अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ ।

आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको १२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ ।

सरुवा भएर आउने १५ जना कर्मचारी कार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।

अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ । उनले भने, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछि सच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।”  गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.