बाँके, भदाै १६ः नेपालगञ्ज नाकामा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको छ । सरकारले भारतबाट आएका सबै व्यक्तिको टिबी जाँच गर्न भने पनि नाकामा रहेको हेल्थडेस्कमा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको हो ।
भारतमा मजदुरी गरेर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कमा टिबी जाँच हुने गर्दछ । मोबाइल नहुने व्यक्तिलाई ‘रोग’ देखिएमा खबर गर्न नसकिने भएकाले उनीहरूको जाँच नै नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको खकार संकलन गरिन्छ ।
त्यसलाई टिबी अस्पतालमा पठाइन्छ । रोग देखिएमा उसलाई मोबाइल नम्बरमा फोन गरेर जानकारी दिइन्छ । उसलाई सम्बन्धित स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाबाट औषधी खान भनिन्छ । भारतबाट आएका व्यक्ति खकार दिएर घरतर्फ जान्छन् । खकार जाँच गर्न केही दिन लाग्छ । उसलाई यहाँ बसाउने कुरा हुँदैन । खकार रिपोर्ट आउँदासम्म ऊ घरमा पुगिसकेको हुन्छ ।
मोबाइल नहुने व्यक्तिलाई रिपोर्टबारे खबर गर्न सकिँदैन । त्यसैले मोबाइल नभएका व्यक्तिको खकार जाँच गरिँदैन । शंकास्पद व्यक्तिलाई स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा गएर टिबी जाँच गर्न सल्लाह दिने गरिएको छ ।
भारतमा कुल्ली काम गरेर आएका व्यक्ति, धुम्रपान गर्ने, खोकिरहने, घरपरिवारमा कसैलाई टिबी भएकाहरूलाई विशेष प्राथमिकताका साथ जाँच गर्ने गरिन्छ । स्वास्थ्यकर्मीले शरीर हेरेर पनि कतिपयलाई अनुमान गरिरहेका हुन्छन् । नेपालगञ्ज नाकामा २०७८ साउन १ गतेदेखि टिबी जाँच भइरहेको छ । अहिलेसम्म एक हजार तीन सय जनाको जाँच भइसकेको छ । त्यसमा १३ जनालाई टिबी देखिएको छ । यो भनेको जाँच गरेकोमा एक प्रतिशत हुन आउँछ । नेपाल समाचापत्रबाट