काठमाडौं, १९ चैत / नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज (सोमबार) बैठकमै रेशम र रञ्जिता पक्षबीच हात हालाहाल भएको छ ।
सरकारको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सोमबार राजधानीमा बोलाएको बैठकमा तनावको अवस्था निम्तिएको छ । विवाद र हात हालाहालका बिच पनि बैठक जारी नै रहेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार नाउपाका संरक्षक रेशम चौधरीले कसैको उक्साहटमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उनको बुवा लालवीर चौधरीले पनि साथ दिएका थिए ।
अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको पाइएको छ ।