नाइजेरियामा यात्रु बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु, १ सय ३० बढी बेपत्ता

रिपोर्ट नेपाल | 2021 May 27 | 03:31 pm 385

एजेन्सी, जेठ १३ः नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ । घटनामा १३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँडेको डुंगा दुर्घटनामा परेको हो ।

झण्डै १ सय ६० जना यात्रुहरु यस डुंगामा सवार रहेको र त्यसमध्ये एक जना मृत तथा २२ जनाको जीवितै उद्धार भएको स्थानीय अधिकारी अब्दूल्लाही बुहारी वाराले बताए ।

वाराकाअनुसार काठको यस डुंगामा मानिससँगै १ सय ६० बोरा बालुवासहितका सामानहरु पनि थियो । यो डुंगा पानीमा अर्को वस्तुसँग ठोक्किएपछि दुर्घटनामा परेको अनुमान अधिकारीहरुले गरेका छन् । यसअघि गत सेप्टेम्बरमा पनि किब्बीमा यस्तै दुर्घटना भएको थियो । त्यतिबेला ८ जनाले ज्यान गुमाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.