नवौं राष्ट्रिय खेलकुदः ३६ खेलको खेलस्थल सार्वजनिक

रिपोर्ट नेपाल | 2022 Sep 15 | 07:54 am 197

कास्की, भदाै ३०ः आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलको खेलस्थल टुंगो लागेको छ । राष्ट्रिय खेलकुद प्रचारप्रसार समितिले पोखरामा बुधबार साँझ प्रतियोगितामा समावेश ३६ खेलको खेलस्थल सार्वजनिक गरेको हो । खेलहरू अधिकांश गण्डकी प्रदेश राजधानी पोखरा केन्द्रित छन् । नवौं राष्ट्रिय खेलकुद आगामी २८ असोजदेखि ३ कात्तिकसम्म हुँदै छ ।

क्रिकेट पुरुष काठमाडौं, फुटबल महिला वालिङ, भलिबल महिला तथा तेक्वान्दो म्याग्दी, बुद्धिचाल गोरखा, कुस्ती र सेपाक्टाको महिला तथा पुरुष नवलपुर, सुटिङ काठमाडौं, कराँते पर्वत, आईटीएफ तेक्वान्दो बागलुङबाहेक बाँकी सबै खेलका प्रतियोगिता पोखरा र यस आसपासमा हुनेछन् ।

खेलस्थल छनोट समिति संयोजक एवं राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले प्राविधिक कारणले खेलस्थल परिवर्तन हुने अवस्था आएमा पछि परिवर्तन गर्न सकिने बताए । यसअघि गण्डकीका ११ वटै जिल्ला समेट्नेगरी प्रतियोगिता सञ्चालन गरिने भए पनि चार जिल्ला छुटेका छन् । जसमा हिमालपारिका जिल्ला मनाङ, मुस्ताङसहित लमजुङ र तनहुँमा कुनै खेल हुनेछैनन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले संघीय संरचनामा गइसकेपछि सम्बन्धित प्रदेशले खेलाडीको सेवासुविधालगायतको जिम्मेवारी लिनुपर्ने प्रावधान भए पनि पछिल्लो समय गुनासो आएकाले राखेपले नै टोकन मनी उपलब्ध गराउने र प्रदेश पनि कन्भिन्स भएको उल्लेख गरे ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले आफूहरूले ट्रफी सार्वजनिक गरेको अब सबै प्रदेश र विभागमा पुर्याउने बताए । त्यसका लागि दीपक बिष्टको संयोजकत्वमा टिम बनाइसकेको उनले जानकारी दिए । ट्रफी टुर कार्यक्रम भदौ ३१ देखि सुरु हुनेछ । सदस्य सचिव घिसिङले निर्धारित समयभन्दा पछि हुन लागेको यो प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.