नवलपुरको मध्यविन्दुमा पालिएको लोकल कुखुरामा बर्डफ्लु फेला

| 2019 May 08 | 12:10 pm 2065

नवलपुर, वैशाख २५ : पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ नन्दपुरका स्थानीयले पालेका स्थानीय जात (लोकल) कुखुरामा बर्डफ्लु भेटिएको छ । स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु देखिएको हो। महतोले पालेका १ सय ५० कुखुरामध्ये ७५ प्रतिशत बढी मरेपछि उनले केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षणका लागि लगेका थिए।

उक्त नमूनालाई केन्द्रीय भेटेरिनरी प्रयोगशाला काठमाडौंले समेत प्रमाणित गरेपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई बुधबार नष्ट गरिएको मध्यविन्दु नगरपालिका पशु विकास शाखाका प्रमुख डा श्यामकृष्ण तिवारीले जानकारी दिए।

रोग नियन्त्रण गर्न भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दमौलीमा कन्ट्रोल रुम स्थापना गरिएको थियो। कन्ट्रोल रुमसहित पशु रोग अन्वेषण प्रयोगशाला पोखरा, गण्डकी प्रदेश भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जिल्ला स्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले रोग नियन्त्रणमा ल्याएको तिवारीले बताए।

बर्डफ्लु नियन्त्रण गर्नका लागि नन्दपुर गाउँको १ किमि क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो। त्यस क्रममा १ सय ८१ गोटा लोकल कुखुरा, ६५ गोटा हाँस, दाना, अण्डा र कुखुराका सुली नष्ट गरिएको डा तिवारीले बताए।

केही वर्षपहिले नगरपालिकासँग सीमाना जोडिएको हुप्सेकोट गाउँपालिकाको गिरुबारी क्षेत्रमा पनि बर्डफ्लु भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.