नवनिर्वाचितको कार्यकाल आजबाट सुरु

रिपोर्ट नेपाल | 2022 May 20 | 06:49 am 1545

काठमाडौं, जेठ ६ः २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।

२०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।

संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ ।

यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

२०७४ मा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा

संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार रातिसम्म ६ सय बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र शुक्रबार (आज)बाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु हुने जानकारी दिए ।

‘संवैधानिक व्यवस्थाअनुसार नै बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबारबाटै सुरु हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।

‘रिजल्ट आएका ठाउँमा शपथ गराउनु भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा शपथ हुन्छ,’ प्रमुख आयुक्त थपलियाले अघि थपे ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको देशका ६ महानगर, ११ उपमहानगरसहित केही नगरपालिका र केही गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । केही स्थानीय तहका मतदान केन्द्रमा विविध कारणले बिथोलिएको निर्वाचन पनि धमाधम छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.