बाँके, जेठ २१ः एक्कासि ठूलो सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएसँगै सामान्य बन्दै गएको छ ।
भारतको मुम्बईबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण त्यहाँ भित्रबाटै धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकै पटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो ।
पछिल्लो समय चालिएका सकारात्मक कदमहरूका कारण ठुलो सङ्ख्यामा सङ्क्रमण थप फैलिन नपाएको र क्वारेन्टाइनको व्यवस्थापनमा पनि सुधार हुँदै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार त्यहाँका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ९ सय ७८ जना रहेकोमा कोरोना परीक्षण गरेर ७ सय ९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको र अहिले पाँच वटा क्वारेन्टाइनमा १ सय ५३ जना मात्र रहेका छन् ।
उनीहरूमध्ये पनि धेरै जना मङ्गलबार बेलुका घर फर्केकाे उनले बताए । सङ्क्रमित भएका तीन जना निको भएर घर फर्किसकेपछि अहिले नरैनापुरको अवस्था सामान्य बनेको र कोरोनाको त्रास पनि बिस्तारै घट्दै गएको आफूले स्थलगत अनुगमनको क्रममा पाएको फोकल पर्सन श्रेष्ठले बताए । गाेरखापत्र दैनिकबाट