संखुवासभा, ३१ जेठ : संखुुवासभाको खाँदबारी–३ मानेभञ्ज्याङबाट पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार राति प्रहरी गस्ती टोलीले पेस्तोलसहित सिलिचोङ गाउँपालिका–५ याफुका ३५ बर्षीय केदार राईलाई पक्राउ गरेको हो ।
को ३१ प ९५४४ नम्बरको मोटरसाईकलमा खाँदबारीतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा एक अटोमेटिक पेस्तोल, दुई वटा म्यागजिन र १४ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ ।
राईलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिएका छन् । राई खाँदबारी–३ स्थित मंगलादेवीमा डेरा गरी बस्दै आएका थिए । पक्राउ परेका राई नयाँशक्ति पार्टीका कार्यकर्ता हुन् । राई स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा वडा अध्यक्षको उमेद्वार थिए ।