गोरखा, २५ जेठ : पूर्व प्रधामन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले आफ्नो पार्टी कुनै पनि दलसँग एकता नगर्ने बाताएका छन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको विज्ञ सम्मेलनमा भाग लिन आएका भट्टराइले पत्रकारसँग कुरा गर्दै कांग्रेस र कम्युनिष्ट कुनै पनि दलसँग एकताको संभावना नरहेको बताएका हुन् ।
नयाँ धुव्र निर्माण गर्न आए सोच्न सकिने तर कांग्रेस र कम्युनिष्ट विचार बोकेकासँग एकता हुनै नसक्ने भट्टराईको भनाइ छ । ‘माउन्ट एभरेष्ट चढ्न हिँडेको मान्छे चुरे पहाडतिर फर्कन लागेको हो भनेर सोधे जस्तो लाग्यो,’ उनले भने ‘नयाँ शक्ति कसैको लहड र आक्रोशमा सुरुआत गरेको अभियान होइन ।’
‘पछिल्लो चरणमा एमाले र माओवादीको अन्तरविरोध बढ्दै थियो, जनयुद्धको म्यान्डेट सकिने पो हो कि भनेर प्रचण्ड चिन्तित देखिनुहुन्थ्यो, नयाँ ढंगले माओवादी आन्दोलनलाई रुपान्तरण गरेर समाजवादी ढंगले जाऔँ भनेकै हो,’ भट्टराईले भने,‘तर उहाँ रुपान्तरण भएर जान मान्नुभएन, एमालेसँग एकता गर्नु भयो ।’
‘एक युगको कार्यभार पूरा गरेकोमा कांग्रेस र कम्युनिष्टलाई धन्यवाद, कांग्रेस र कम्युनिष्ट विचार अहिले संकटमा परिसक्यो ।’ अब कम्युनिष्ट ब्रान्ड बोक्नुको औचित्य पनि नरहेको उनले बताए । ‘तेस्रो धुव्र निर्माण गर्न अघि बढेको शक्ति यो वा उ वाहानामा एकतातिर टासिन्छ कि भन्ने छैन,’ उनले भने ।