नयाँ पार्टी दर्ताका लागि आज सनाखत गरिँदै

| 2021 Aug 25 | 07:50 am 2109

काठमाडौं, भदाै ९ः निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज बुधबार सनाखत गराउने भएको छ ।

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको हो ।

सरकारले दल विभाजन सजिलो हुने अध्यादेश ल्याएपछि सो पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए । त्यसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको थियो ।

आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको आयोगले जनाएको छ । केन्द्रीय सदस्यहरु भौतिकरूपमै उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता भारतमा उपचार गराइरहेका छन् । यसैबीच नेता खनालले आयोगलाई पत्र लेख्दै दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । उनले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगले जनाएको छ । पत्रमा खनालले आफूले नेकपा एमाले त्यागिसकेको र एकीकृत समाजवादीमा रहेको उल्लेख गरेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.