काठमाडौं, मंसिर २४ः महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईबाट विशेष सूचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंगलबार नक्कली सवारी चालक अनुमति पत्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।
उनलाई प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका ६ ठिमिबाट पक्राउ गरी निजले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को हुण्डाई कम्पनिको १२० कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरी पक्राउ गरेको ट्राफिक प्रहरीले जानकारी दिएको हो ।
पक्राउ परेका गिरीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहिको लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाईएको बताइएको छ ।