काठमाडौं, साउन १६ । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध थुनामुक्त माग गर्दै नेता लगायतका अभियुक्तहरुको उच्च अदालत पाटनमा रिट परेको छ।
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका मुख्य विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन्।
उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको बताए।
तर यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। बाँकी १६ जनालाई केन्द्री कारागार सुन्धारामा चलान गरिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको संगठित ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन्।