नक्कली भुटानी शरणार्थी मुद्दा : थप १८ पीडितको जाहेरीलगत्तै दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुल्यो

| 2023 Aug 15 | 07:56 am 2633

काठमाडौँ, साउन ३०।प्रहरीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलेको छ । अभियुक्तविरुद्ध १८ पीडितले जाहेरी दिएपछि प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकांश जाहेरी हाल पुर्पक्षका लागि कारागारमा रहेकाहरूकै विरुद्ध छन् । छुट्टाछुट्टै दर्ता भएका तीन जाहेरीमा १८ पीडितको नाम उल्लेख छ । ठगी भएको रकमको परिमाण एक करोड ८५ लाख ९२ हजार रुपैयाँ उल्लेख छ । सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरुङको मिलेमतोमा उक्त रकम ठगी भएको जाहेरीमा भनिएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले १८ पीडितको जाहेरीपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलेको बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ पीडितले जाहेरी दिएका छन् । जाहेरी दर्ता भएको छ । यसले घटनमा दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुला गरिदिएको छ । अब प्रकरणमा पुनः अनुसन्धान सुरु हुन्छ ।’

जिल्ला सरकारी वकिल कार्यालयले प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयलाई गत १४ जेठमै निर्देशन दिएको थियो । यसबीचमा घटनामा जोडिएका १७ अभियुक्त पुर्पक्षका लागि कारागार गइसकेका छन् । तर, प्रहरीले यसबीचमा थप अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । न घटनामा मुछिएकाविरुद्ध बयान नै हुन सकेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना पीडितको जाहेरी परेको र घटना सम्बन्धमा कानुनअनुसार कारबाही अघि बढ्ने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएका १८ जनाको जाहेरी परेको छ । जाहेरीमा अध्ययन हुँदै छ । प्रहरीले कानुनअनुसार आफ्नो काम अघि बढाउँछ ।’

घटनामा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सांसद आङटावा शेर्पा, केशवप्रसाद दुलाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, लक्ष्मी महर्जन र टेकनाथ रिजाल पक्राउ परेका थिए ।

जसमध्ये महर्जन अदालतको आदेशपछि धरौटीमा छुटेका छन् । बाँकी सबै पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । उनीहरूलाई अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ । घटनामा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापामगर, डा. राईका छोरा नीरज राई, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल र सुनील बुढाथोकी फरार छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ । (नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.