नक्कली भुटानी शरणार्थी प्रकरणः जिल्ला अदालतमा थुनछेक बहस सुरु

रिपोर्ट नेपाल | 2023 Jun 04 | 12:31 pm 1417

काठमाडौँ, जेठ २१। नेपाली नागरीकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँण लगायतका अभियुक्त विरुद्ध परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।
आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय दिइएको छ ।
थुनछेक बहस सकेर अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा बताएका छन् ।

आजै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु भएको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः आदेश आउनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

सरकारी वकिलको वहस सम्पन्न भएपछि विपक्षी बनाइएका कांग्रेस नेता बालकृष्ण खाँणको पक्षबाट पूर्व न्यायधिवक्ता र पूर्व बार एशोसियसनका अध्यक्षले बहस गर्ने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.