चितवन, चैत २९ः संसारभर काेराेना भाइरस फैलिरहेकाेले यति बेला देश पूर्ण लकडाउनमा छ । अहिले लकडाउनका कारण सवारी साधन चलाउन तथा हिँडडुल गर्न असहज छ ।
यही माैकामा नक्कली बिरामी बनेर एम्बुलेन्समा लागूऔषध ओसारपसार गर्ने तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा विनोद रानामगर, प्रवीण घर्ती र लागूऔषधको माग गर्ने अनुप तिमिल्सिना रहेका छन् ।
सरकारको अनुमतिविना सवारी साधन सञ्चालन गर्न नपाइने भएपछि बिरामी बोक्ने एम्बुलेन्सको सहारामा लागूऔैषध ओसारपसार तथा दूध बोक्ने अनुमति लिएका सवारी साधनमा मदिरा ओसारपसार भईरहेको पाइएकाे छ ।
मकवानपुरमा दूध बोक्नको लागि अनुमति लिएको टेम्पोले मदिराको कारोबार गरेको घटना सेलाउन नपाउँदै चितवनमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने गरेको तथ्य फेला परेको हाे ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार नक्कली विरामी खडा गरेर लागूऔषध ओसारपसार भईरहको भेटिएको जानकारी दिएकाे छ ।
गत चैत २४ गते भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।
नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १ सय ८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
पक्राउ परेका विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।
विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।