पोखरा, १५ असार : नक्कली प्रहरी बनेर पैसा असुली गर्ने तथा शरीर बन्धक बनाउने गिरोह पक्राउ परेका छन् । बुधबार पोखरा लेखनाथ महानगरपालिका -९ नागढुगाबाट पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका -४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगरपालिका -१४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँपालिका – १ बस्ने २३ वर्षीय भोज कुमार खत्री, गुल्मी ठुलोलुम्पेक गाविस – ६ बस्ने २८ वर्षीय बालकृष्ण गौतम रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
उनीहरूले नक्कली प्रहरी बनेर पैसा असुल्नका साथै आफ्नै घरमा लगी शरीर बन्धक बनाउँदै आएका थिए । कास्की प्रहरीको अनुसार उनीहरूले अपराध अनुसन्धान शाखाको ईन्सपेटर तथा मानवअधिकार विभागिय प्रमुख हौ भनी पैसा असुली गर्ने, धाक धम्की दिने तथा नमानेमा आफ्नै घरमा लगी शरीर बन्धक बनाउने गर्दै आएका थिए ।
पक्राउ परेका चारैजनालाई बिहीबार कास्की जिल्ला अदालतबाट शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी गुरुङले बताए ।