नक्कली नोट बनाउने दम्पती पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 19 | 05:59 pm 1906

पोखरा, फागुन  ७ : प्रहरीले नक्कली नोट छाप्ने मेशिनसहित पोखराबाट एक दम्पतीलाई पक्राउ परेको छ । नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगीन प्रिण्टरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरालगायत आसपासका बिभिन्न स्थानमा नक्कली नोटको कारोवार गर्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लगायतका अन्य सामाग्री लिएर फरार भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरी थप आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र गुरुङले बताएका छन् ।

‘नक्कली नोटको कारोवार गरेको आरोपमा पक्राउगरी प्रहरीले आवस्यक अनुसन्धान गर्दैछ’ उनले भने । ‘अनुसन्धान सकिएपछि पछि वास्तविकता सार्वजनिक गछौं,’ गुरुङले भने ।
ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलसहित अर्मला पुगेका उनीहरुले १ हजारका नक्कली नोट दिएर रिचार्ज कार्ड खरिद गरेका थिए ।

प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ पर्स्याङस्थित धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षका नरेश लामा र निजकी श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोवाईल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.