झापा, साउन ३०: पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन्।
प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो।
प्रहरीले सतिसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ। दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।