नक्कली घ्यू उत्पादन गर्ने काराखानामा प्रहरीको छापा, संचालक सहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 23 | 01:14 pm 2055

पर्सा, पुस ७: विभिन्न किसिमाका रसायन प्रयोग गरेर घ्यू उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घ्यू उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उद्योगका मालिक अनिल श्रेष्ठ र उनका सहयोगी वीरगञ्ज–१५ का रमेश श्रेष्ठ र भारतको बिहार मोतिहारीका रामविलास यादव रहेको प्रहरीले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन प्रयोग गरी घ्यू उत्पादन गरेको भेटेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिए । घ्यूमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने खुलेको छैन ।

एसपी राठौरका अनुसार, त्यसरी उत्पादित घ्यूमा पूजा, दुर्गा र गोकुल शुद्ध घ्यूको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ ।

‘नक्कली घ्यू उत्पादन गर्दै आएको सूचनापछि त्यहाँ पुग्दा रसायन प्रयोग गरेर घ्यू बनाउने गरेको पाइयो’, एसपी राठौरले भने, ‘नक्कली घ्यूमा पूजा, दूर्गा र गोकुल शुद्ध घ्यूको स्टिकर लगाएर बजार पठाउने गरिएको रहेछ ।’

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाए ।

नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि प्रहरीले बरामद गरेको छ । नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको एसपी राठौरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.