काठमाडौं, मंसिर १३: प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी र चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती रहेका छन् ।
बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित उनीहरुलाई सीआईबीले पक्राउ गरेको हो।
सीआईबी प्रवक्ता बेल बहादुर पाण्डेका अनुसार सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाटै नियन्त्रणमा लिएको प्रवक्ता पाण्डेले बताए। ।