नक्कली एनएस चिन्‍ह राखेर सञ्‍चालित प्रान पोट्‍याटो उद्योगमा शिल

रिपोर्ट नेपाल | 2018 Jun 21 | 08:45 am 3235

काठमाडौं, असार ७: नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ ।

विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो ।

कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनएस चिह्न राखेको अनुगमनमा भेटिएपछि कम्पनीलाई शिलबन्दी गरी कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

“कम्पनीले स्वीकृति नलिई वर्षौंदेखि आफ्नो उत्पादनमा एनएस लोगो छापेर सामान बिक्री गर्दै आएको फेला परेको छ,”– महानिर्देशक पुडासैनीले भने ।

गुणस्तरबाट एनएस चिह्न लिन उद्योगीले नियमानुसार उत्पादन गर्नुपर्ने हुन्छ । उनीहरुको गुणस्तरबारेमा विभागले परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिह्न उपलब्ध गराउने गरेको छ ।

विभागले अनुगमनमा भेटिएको १३१ कार्टुन प्रान पोट्याटो क्य्राकरमा शिलबन्दी गर्नुका साथै सम्पूर्ण व्यवसायीलाई उक्त प्रान पोट्याटो क्य्राकर नबेच्नसमेत निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.