दाङ, असोज २४ सभामुख कृष्णबहादुर महराले अरुबेला जे जस्तो भएपनि तर चाडपर्वले सबैलाई एकआपसमा सद्भाव बढाउने बताए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले आज बुधबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बेधन गर्दै उनले राम्रा र सकारात्मक कुरालाई मात्र ग्रहण गर्नुपर्ने र नकारात्मक कुरालाई जरैबाट उखेलेर हटाउनुपर्नेमा जोड दिए ।
सभामुख महराले ईश्वरीय विद्यालयले विज्ञान, आध्यात्मिक ज्ञान र पर्यावरणलाई एकैसाथ जोड दिएको पनि बताए ।
राष्ट्रियसभाका सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य अम्मर डाँगी, जिल्ला समन्वय समितिका अध्यक्ष जीतेन्द्रमान नेपाली लगायतले नेपालको मौलिक चाडपर्वलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।
यसका साथै त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको नेतृत्वमा गएको टोलीले आज सभामुख कृष्णबहादुर महरासँग भेट गरी जेसिजग्रामका रुपमा विकास गर्न थालेको घोराही–१३ मौलाकोटका लागि विभिन्न योजना समेटिएको अनुरोधपत्र हस्तान्तरण गरेका छन् ।
यही अवसरमा सभामुखले जेसिजग्रामको गुरुयोजना निर्माण गर्न आग्रह गर्दै मौलाकोटमा भ्यू–टावर निर्माण गर्ने, बाटो, बिजुली र विद्यालयजस्ता आधारभूत पूर्वाधार तयार पार्नका लागि स्थानीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्ने बताए ।
जेसिजका अध्यक्ष लालमणी भण्डारीले मौलाकोटमा धेरै भन्दा धेरै सम्भावना हुँदाहुँदै पनि आधारभूत पूर्वाधारबाट बञ्चित रहेकाले यसमा सहयोग गरिदिन सभामुखलाई आग्रह गरे ।