काठमाडौँ, मंसिर ८ / गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त भएको धितोपत्र बोर्डको अध्यक्षका निम्ति तीन जना प्रत्याशीलाई अन्तर्वार्ताका लागि सरकारले डाकेको छ । सिफारिस समितिले यसअघि पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई आइतबार अन्तर्वार्ताका लागि डाकेको हो ।
धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि तीन जना सिफारिस गर्नुपर्छ । यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरण (सर्ट लिस्ट)मा छानेको थियो । तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी भए । तर, कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै गएनन् ।
अन्तर्वार्तामा डाकिएका तीन जनामध्ये एक जना मात्र पनि उपस्थित भए, सिफारिस समितिलाई तीन जना सिफारिस गर्न कानुनी बाटो खुल्नेछ ।
‘प्रत्याशीहरू आइतबार अन्तर्वार्तामा उपस्थित भएपछि उत्कृष्ट तीन जनाको नाम सोही दिन सिफारिस गरिने र सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले तीन जनामध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने सम्भावना छ ।