काठमाडौँ, आश्विन १८ / धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।
यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।
स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको हो । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।