धादिङमा पहिरो: ७ घर बगाउँदा ३ जनाको मृत्यु, २ बेपत्ता

रिपोर्ट नेपाल | 2018 Jun 28 | 07:54 am 3165

धादिङ, असार १४: धादिङमा पहिरो जाँदा सात घर बगाएको छ । जसमा तीन जनाको मृत्यु भएको छ भने दुर्इ जना वेपत्ता भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा पहिरो गएको पाँच जना घाइते छन् ।

नेत्रावती डपजोङ–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ। बुधबार राति खनियाँबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा उनकी बुहारीसहित दुई नातिनीको मृत्यु भएको हो।गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने जिवितै उद्धार गरिएको छ।

मृत्यु हुनेमा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ। घाइते विकासको स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार खनियाँबास–४ चिउरीबोटमा पहिरोले एक घर बगाएको छ। उक्त पहिरोमा सम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन्।

खनियाँबास–४ दार्खामा पनि पहिरोले दिपक गोतामेको घर बगाएको छ। उक्त घटनामा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना गोतामे र २ वर्षका रवि गोतामे घाइते भएका छन्।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ। वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैन। इलाका प्रहरी कार्यालय दार्खाबाट प्रहरी टोली प्रहरी चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा भने अझै पुग्न सकेका छैनन्। घटनाको अन्य विवरण आउन बाँकी रहेको र घटनास्थलमा सक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरुको उद्धारका लागि हेलिकप्टर बोलाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.