काठमाडौं, माघ १८ : लामो रस्साकस्सीपछि दुई राप्रपा आज एक हुदैछन्। पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबीच एकता हुन लागेको हो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे विशेष समारोहबीच पार्टी एकता घोषणा गरिने राप्रापा प्रजातान्त्रीकका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। यसअघि हिजो दुवै पक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र चुनाव चिह्न हलो हुनेछ ।
एकतापछि सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसांपेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीले अवलम्वन गर्ने आधारपत्रमा उल्लेख छ । आधारपत्रमा संविधानको पूर्ण कार्यन्वयनलाई समेत जोड दिइएको छ।
कमल थापा नेतृत्वको राप्रपासँगपनि एकता गर्ने गरी छलफल भएपनि चुनाव चिन्हमा सहमती जुट्न नसकेपछि दुई राप्रपा मात्रै एक हुन लागेका हुन् । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने दुई दलबिच प्रारम्भीक सहमती भएको छ ।
एकता घोषणा पछि एक महिनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिने महामन्त्री श्रेष्ठले बताए। यसैबीच राष्ट्रिय प्रताजन्त पार्टी प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्षद्वय दीपक बोहरा, केशरबहादुर विष्टलगायत केही नेताले एकीकृत राप्रपा राष्ट्रवादीसँगको एकता अस्वीकार गरेका छन् ।