धर्म के हो ? धर्मनिरपेक्षता के हो ?

रिपोर्ट नेपाल | 2021 Oct 06 | 07:43 am 805

  • बबिता बस्नेत

ढुङ्गेयुगपछिका विभिन्न युगमा अहिले झैँ कानून थिएन, धर्म नै कानून मानिन्थ्यो । न्याय, अन्यायसँग जोडेर धर्मको ब्याख्या गरिन्थ्यो । हिंसा अधर्म थियो, दया धर्म थियो । कसैलाई राम्रो गर्नु धर्म थियो, नराम्रो गर्नु, दुःखकष्ट दिनु पाप थियो । जे गर्दा पनि पाप-धर्मको ख्याल गर भन्ने गरिन्थ्यो । त्यसको अर्थ न्याय-अन्यायको ख्याल गर भनिएको हो ।

धर्म संस्कृत शब्द हो, पाली भाषामा यसलाई धम्म भनिन्छ । प्राणी जगत्मा जसले जे गरिरहेको छ त्यो इमान्दारीपूर्वक गर्नु धर्म हो । आफ्नो कर्तब्य निर्वाह गर्नु धर्म हो । आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र धर्मको अर्थ नियम, कानून, न्याय, कर्तब्य !

नेपालको संविधानको धारा ४ मा नेपाल ‘धर्मनिरपेक्ष राज्य हो’ भनिएको छ । स्पष्टिकरणमा लेखिएको छ, ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ २०४७ सालको संविधानमा ‘नेपाल हिन्दू अधिराज्य हो’ भनिएको थियो । नेपाल हिन्दूबाट धर्मनिरपेक्ष राज्यमा परिणत हुनुअघि र भएपछि मुलुकमा ‘धर्मनिरपेक्ष’ शब्दको अर्थ र मर्मका बारेमा जुन रूपमा चर्चा हुनुपर्ने हो त्यो भएको छैन । हाम्रोजस्तै धार्मिक आस्था, समान संस्कृति र धार्मिक विविधता भएको मुलुक भारतको संविधानमा धर्मनिरपेक्ष शब्द नराखी ‘पंथनिरपेक्ष’ शब्द राखिएको छ । अंग्रेजीमा प्रयोग गरिएको ‘सेकुलर’ शब्दलाई हिन्दीमा पंथनिरपेक्ष भनी अनुवाद गरिएको हो, जसलाई हामीले नेपालीमा ‘धर्मनिरपेक्ष’ भनेका छौँ ।

‘धर्मनिरपेक्ष’ धर्म र निरपेक्ष दुई वटा शब्द मिलेर बनेको छ । मनुस्मृतिमा धर्मको बारेमा ‘धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम्’ भनिएको छ । यसको अर्थ हुन्छ, धर्मका दस लक्षण छन् : धैर्य, क्षमा, संयम, चोरी नगर्नु, स्वच्छता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र क्रोध नगर्नु । ‘निरपेक्ष’को अर्थ मत्लब नगर्नु या चासो नराख्नु या अलग हुनु भन्ने हुन्छ । यस अर्थमा ‘धर्म’ भन्ने कुरा निरपेक्ष हुन सक्दैन । भारतमा सन् १९७६ मा भएको संविधान संशोधनका क्रममा अङ्ग्रेजीमा ‘सेकुलर’ शब्द राख्ने भएपछि हिन्दीमा के राख्ने भनेर विद्वान्हरूले धेरै दिमाग खियाएर ‘पंथ’ शब्दको प्रयोग गरेको विभिन्न दस्तावेजहरूमा उल्लेख छ । अङ्ग्रेजी शब्द ‘रिलिजन’को अर्थ धर्म होइन पंथ हो भनेर त्यतिबेला बहस गरिएको थियो । ‘हिन्दु धर्म होइन जीवनपद्धति हो र पंथ पूजा पद्धति हो’ भनी भारत कानपुरका प्राध्यापक डा. एके बर्माले यी दुईबीचको भिन्नतालाई स्पष्ट गरेका छन् । डा. बर्माका अनुसार पंथ या रिलिजनमा चार वटा प्रमुख विशेषता हुन्छन्, एउटा निश्चित इश्वर हुन्छ, निश्चित धर्मग्रन्थ हुन्छ, पूजा पद्धति हुन्छ र अन्तिम गन्तब्य हुन्छ । जस्तो, इश्लाम धर्ममा देवता या इश्वर- पैगम्बर मोहम्मद, धर्मग्रन्थ- कुरान, पद्धति नमाज पढ्ने र अन्तिम गन्तब्य- मक्का मदिना । इशाइ धर्ममा पनि यी चार कुरा निश्चित छन्, इश्वर- जिसस क्राइष्ट, धर्मग्रन्थ- बाइबल, पद्धति- प्रार्थना । तर हिन्दू धर्ममा इश्वर या भगवान् गनेर नसकिने छन्, धर्मग्रन्थ एउटा मात्र छैन, पद्धति अनेक छन्, जो अपनाए पनि हुन्छ नअपनाए पनि हुन्छ । मन्दिर गए पनि भयो नगए पनि भयो । एक हातले दर्शन गरे भयो, दुई हात जोडे पनि भयो, निधार छोएरै ढोगे भयो, हेरेर मात्र फर्किए पनि भयो । हिन्दू धर्ममा भगवानको दर्शन र प्रार्थना गर्ने कुनै छुट्टै बार र समय छैन । पूजाका क्रममा आरती गरे पनि हुन्छ, फूल मात्रै चढाए पनि हुन्छ, पैसा, चामल, कपडा, जल जे चढाए पनि भयो नचढाए पनि भयो । त्यसैले हिन्दु पंथ होइन धर्म हो ।

हाम्रोजस्तै धार्मिक आस्था, समान संस्कृति र धार्मिक विविधता भएको मुलुक भारतको संविधानमा धर्मनिरपेक्ष शब्द नराखी ‘पंथनिरपेक्ष’ शब्द राखिएको छ । अंग्रेजीमा प्रयोग गरिएको ‘सेकुलर’ शब्दलाई हिन्दीमा पंथनिरपेक्ष भनी अनुवाद गरिएको हो, जसलाई हामीले नेपालीमा ‘धर्मनिरपेक्ष’ भनेका छौँ ।

‘सेकुलर’ शब्द पश्चिमबाट आएको हो । पूर्वीय दर्शनमा भगवत गीताको पहिलो अध्याय नै ‘धर्म’ शब्दबाट सुरु भएको छ । प्रथम अध्यायमा धृतराष्ट्रले भनेका छन्- ‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः । मामका पाण्डवाश्चैव किमकुर्वत संजय ।।’ धर्म र स्वधर्मका बारेमा महाभारतमा कृष्णले अर्जुनलाई लामो समय खर्च गरेर सम्झाएका छन् । धर्म शब्द कुन अर्थमा प्रयोग भएको छ त्यसमा भर पर्छ । जस्तो, बलेन भने आगोले स्वधर्म निभाउँदैन । पानीको धर्म तिर्खा मेटाउनु हो । पत्रकारको धर्म सही सूचना दिनु हो । न्यायाधीशको धर्म न्याय दिलाउनु हो । राजधर्मको अर्थ राजाले निर्वाह गर्ने कर्तब्य हो । राजाको अर्थ राज्यसञ्चालक । राज्य सञ्चालन राजाहरूबाट हुने, राजालाई इश्वरको प्रतिनिधिका रूपमा र राज्यहरूलाई दैवी संस्थाका रूपमा लिने गरिएको पृष्ठभूमिमा धर्मबाट राज्यहरू निर्देशित हुन्थे । धर्म र राज्य फरक हो भन्ने बुझाइ बढ्दै गएपछि धर्मनिरपेक्ष राज्यको परिकल्पना गरियो र सोहीअनुरुपका अभ्यासहरू हुन थाले । त्यसअघि इश्वरले मानिस बनाएको हो कि मानिसले इश्वर भन्ने बहस पनि चल्यो । ईश्वरले मानिस बनाएको हो भन्नेहरूले आफ्ना तर्क दिए । मानिसले इश्वर बनाएकाले इश्वरको परिकल्पना मानिसजस्तै गरे भन्नेहरू निस्किए । विज्ञान र धर्मका बीच लामो घम्साघम्सीपछि विभिन्न विचारधारा जन्मिए । यसै क्रममा कार्ल मार्क्स जस्ता मानिसले आफ्नो धारणा बनाए जो इश्वरविरोधि थिए । राज्यहरू ईश्वरीय कानूनबाट होइन मानिसले बनाएको कानूनबाट चल्नुपर्छ भन्ने आवाजहरू बुलन्द भए ।

यस्तै विभिन्न धारकाबीच सन् १८५० मा बेलायती लेखक जर्ज जेकब होलियोकले पहिलो पल्ट ‘सेकुलर’ राज्यको अवधारणा ल्याएका हुन् । होलियोकले धर्मनिरपेक्ष नैतिकताको कुरा पनि त्यतिबेलै उठाएका हुन् । धर्म र नैतिकताबीच गहिरो सम्बन्ध छ तर धर्मले भने पनि नभने पनि मानिसले नैतिकता कायम राख्नुपर्छ भन्ने उनको भनाइ थियो । ‘धर्मको विरोध पनि नगरौँ समर्थन पनि नगरौँ, तटस्थ बसौँ’ भन्ने उनको सिद्धान्त हो । धर्मसँग जोडेर हेर्दा विश्वभरी चार प्रकारका राज्य छन्- धार्मिक राज्य, धर्मप्रभावित राज्य, धर्मनिरपेक्ष राज्य र धर्मविरोधि राज्य । धार्मिक राज्यमा धर्मग्रन्थ नै संविधानसरह हुन्छ, जस्तो भेटिकन सिटी, जहाँ पोप प्रमुख हुन्छन् । धर्मनिरपेक्ष तर धर्मप्रभावित राज्य धेरै छन् जसमा बेलायत, अमेरिका, स्क्याण्डेनेभियन मुलुकहरू पर्छन् । बेलायतकी महारानी या राजा चर्च अफ इङ्ग्ल्याण्डको प्रम्ख हुन्छन् । धेरै कामहरू प्रार्थनाबाट सुरु गरिन्छ । यस्ता देश धेरै छन् । अमेरिकाको पैसामै ‘वी ट्रष्ट इन गड’ लेखिएको छ । ईश्वरको नाममा शपथ ग्रहण गरिन्छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मलाई समान रूपले हेर्छ, धार्मिक भेदभाव राख्दैन । धर्मविरोधि राज्यले धर्म मान्दैन । पूर्व सोभियत सङ्घ, माक्र्सवादी (पोलपोट) शासनकालको कम्बोडिया, चीन, उत्तर कोरिया धर्मविरोधि राज्य हुन् जहाँ धर्मको कुनै स्थान हुँदैन ।

धर्मनिरपेक्षता दुई प्रकारका देखिन्छन्, कठोर र उदार । अमेरिका, भारतलगायत धेरै मुलुकहरू उदारको सूचिमा पर्छन् भने फ्रान्स कठोर धर्मनिरपेक्ष मुलुक हो । फ्रान्समा धर्मको सङ्केत दिने बस्त्र या केही लगाएर विद्यालय जान पाइँदैन । सार्वजनिक स्थानमा हिँड्न पाइँदैन । हाम्रो देश नेपाललाई २०६३ सालको अन्तरिम संविधान जारी भएसँगै धर्मनिरपेक्ष राज्य घोषणा गरिएको हो । त्यसअघि नेपाल विश्वको एक मात्र हिन्दूराष्ट्र थियो । हिन्दूराष्ट्र भए पनि राज्यले सबै धर्मप्रति समभाव राख्थ्यो । पहिला विभिन्न मन्दिरको दर्शनदेखि भोटो देखाउने परम्परासम्ममा राजाको उपस्थिति रहँदै आएकोमा अहिले राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिबाट ती कामहरू हुँदै आएका छन् । जुन कुरालाई लिएर कतिले धर्मनिरपेक्ष राज्यमा धार्मिक कार्यमा राष्ट्रप्रमुखको उपस्थिति किन ? भन्ने प्रश्न पनि उठाउने गरेका छन् । ‘धर्म’ र ‘रिलिजन (पंथ) मा फरक भए पनि यसबाट विश्वभरिका कुनै पनि मुलुक मुक्त छैनन् ।

नेपाल यस्तो देश हो जहाँ आफ्नो मुलुक हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भएछ भन्ने कुरा जनताले अन्तरिम संविधान २०६३ जारी भएपछि थाहा पाए । जनताले मात्र होइन अन्तरिम संविधान जारी गर्दाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत ‘संविधानमा धर्मनिरपेक्ष शब्द थिएन, एक्कासी कहाँबाट आयो ?’ भन्नुभएको भन्ने चर्चा चलेको थियो ।

धर्म मुलतः तीन स्तरमा लागु हुने गर्छ- ब्यक्तिगत, सामूदायिक र राज्य । कतिले राज्यको धर्म हुँदैन भने पनि विश्वमा त्यस्ता राष्ट्र छैनन् जहाँ कुनै पनि धर्म नमानिएको होस् । कम्बोडियामा पोलपोटले २० लाख मानिस मार्दा पनि मानिसले धर्म मान्न छोडेका थिएनन् । चीनमा भएको साँस्कृतिक क्रान्तिले मानिसको मनबाट धार्मिक आस्था हटाउन सकेको थिएन । नेपालमा पनि माओवादीले गाउँ-गाउँमा धेरै मन्दिरहरू भत्काए, पूजारी, पण्डितहरूको हत्या गरे तर मानिसको धार्मिक आस्था घटाउन सकेनन् ।

कुनै पनि मुलुकमा राज्य स्तरबाट धर्मको बारेमा निर्णय लिँदा निकै ठुलो छलफल र बहस भएको देखिन्छ । भारतमा धर्मनिरपेक्ष राख्ने कि पंथनिरपेक्ष भन्ने विषयमा नामी विद्ववानहरूबाट राय लिइएको थियो । नेपाल यस्तो देश हो जहाँ आफ्नो मुलुक हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भएछ भन्ने कुरा जनताले अन्तरिम संविधान २०६३ जारी भएपछि थाहा पाए । जनताले मात्र होइन अन्तरिम संविधान जारी गर्दाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत ‘संविधानमा धर्मनिरपेक्ष शब्द थिएन, एक्कासी कहाँबाट आयो ?’ भन्नुभएको भन्ने चर्चा चलेको थियो । अन्तरिम संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द कसले र कुन नियतले राख्यो भन्ने कुरा अहिले पनि हामीकहाँ खोजीको विषय हो । शब्दको त के कुरा धर्मको विषयमा हामीकहाँ कुनै पनि छलफल र बहस नभइ त्यति ठुलो निर्णय भएको थियो ।

विश्वमा भइरहेका सबै अभ्यासहरूलाई हेर्दा हाम्रो देश नेपाल अहिले हिन्दूधर्म राष्ट्र नभए पनि हिन्दू धर्मप्रभावित राष्ट्र हो । राज्य स्तरमा गोरखाबाट फूलपाती ल्याएर हाम्रो दशैँ सुरु हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । हाम्रा राष्ट्रप्रमुखले दशैँमा सर्वसाधारणलाई टीका-जमरा लगाइ शुभकामना दिन्छन् । राष्ट्रप्रमुखले तलेजु भवानीमा गएर पूजा गरेपछि दशैँको कोजाग्रत सम्पन्न हुन्छ । भोटो देखाउने, कुमारीको दर्शनलगायत यस्ता धेरै कुरा राज्य स्तरबाट हुँदै आएका छन्, जुन अभ्यास अन्य मुलुकमा पनि आफ्नै तौरतरिकाले हुने गर्छ । बेलायतका राजा या महारानीको राज्याभिषेक चर्चले गर्छ । त्यहाँको संसद् प्रार्थनाबाट सुरु हुन्छ । हामीकहाँ ८१.३ प्रतिशत नागरिक हिन्दु छन् । हिन्दु धर्म कुनै निश्चित भगवानको पूजापाठ मात्र नभएर हाम्रो जीवनपद्धति हो । हामी काग, कुकुर, गाई, अकाश, भूमि, तुलसी, पिपल लगायतका पूजा गर्छौं । पंक्षी, जनावर र प्रकृतिको पूजा गर्नुको अर्थ तिनको संरक्षण, सम्बद्र्धन गर्नु हो । हाम्रो गीता, वेद, महाभारत, रामायणमा सारा सृष्टिका कुरा छन् । ‘धर्म’ शब्दको अर्थ न्यायसँग जोडिएको हुनाले कसैले म धर्मनिरपेक्ष हुँ भन्यो भने त्यो मान्छे न्याय निरपेक्ष हो भनी बुझ्नुपर्ने हुन्छ । त्यसैले ‘धर्मनिरपेक्ष’ शब्दका विषयमा छलफल र बहस आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.