धनगढीमा गोली प्रहार गरी लुटिएको ९ लाखसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 May 27 | 01:11 pm 3379

कैलाली, जेठ १३: कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथी गोली प्रहारगरी लुटपाटपछि फरार रहेका दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा लगिएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार गरि रकम लुटेका हुन् ।

गोली प्रहारबाट ग्लोबल आईएमई बैंकमा कार्यरत कार्की घाइते भएका छन् । कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ ।

सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.