काठमाडौँ, असोज २१ : प्रधानमन्त्री केपी ओलीले द्वन्द्वका नाममा गरेका सबै अपराध छुट नहुने बताएका छन् । पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै द्वन्द्वका नाममा भएका मानवता विरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको हकअधिकारप्रतिको आफ्नो निष्ठा कायम रहेको उल्लेख गरे। ‘जनताको हकअधिकारप्रतिको निष्ठा कायम छु प्रधानमन्त्री ओलीले भने, ‘हक अधिकार भनेका माइतीघरमा गएर बोल्न पाउने, कराउन पाउने मात्रै होइन, खाना, लाउन, बस्न, छोराछोरी पढाउनसमेत पाउने सम्पूर्ण अधिकार हो।’
शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरू बाँकी रहेको भन्दै ओलीले त्यसलाई पनि मौलिक ढंगले टुंग्याउने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता समेत बताए। उनले आफूबाट इमान्दारिताका साथ काम सुरु भएपछि अन्यत्र बेइमानी नहुने विश्वास व्यक्त गरे। ‘कहींकहीं लुकेर भ्रष्टाचार, बेइमानी चल्ला तर थाहा भएपछि ठिक हुँदैन, उनले भने, समय लाग्ला तर विकृति रोक्न सकिन्छ, रोकिन्छ।’
देश प्रतिगमनतिर जान लागेको कुरा निरर्थक रहेको प्रधानमन्त्री ओलीले बताए। उनले दशकौँसम्मको संघर्ष र जनआन्दोलनबाट स्थापित लोकतन्त्र कसैले खोस्न नसक्ने बताए। सरकार लोकतान्त्रिक प्रणालीभित्र रहेको र त्यही प्रक्रियाबाट अगाडि बढ्ने उनको भनाइ थियो।