द्रुत निगरानी र एक्सनमा जानका लागि प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ बन्दै

| 2018 Jun 30 | 08:43 pm 3722

काठमाडौं , १६ असार : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ बन्दै छ । राष्ट्रिय गौरवका आयोजना काम, अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जानका लागि ‘वार रुम’ बन्न लागेको हो ।

नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तयार गर्न थालिएको छ । सरकारले प्राथमिकतामा राखेका विकास निर्माणसम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महत्त्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गरी निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरका अनुसार विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य साना–ठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो अवधारणा अघि बढाइएको हो ।

‘ताकि समस्या परेका ठाउँमा तत्कालै जिम्मेवार व्यक्तिहरू बसेर एक्सनमा जाने निर्णय गरी काम अघि बढाउन सकियोस्,’ कुँवरले कान्तिपुरसित भने, ‘छिमेकी तथा विकसित मुलुकहरूमा यस्तो अभ्यास सफल भइसकेको छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रयोग गरिसकेका छन् ।

प्रधानमन्त्री कार्यालयभित्रै रहने ‘वार रुम’ मा आयोजना र विकास निर्माणसम्बन्धी सम्पूर्ण गतिविधिको सचित्र र भिडियोसहितको स्क्रिन रहनेछ । अवधारणामा काम गरिरहेका राष्ट्रिय योजना आयोगका सहसचिव तीर्थ ढकालका अनुसार यो एउटा मल्टिमिडिया नै हो ।

‘त्यहाँ हवाइट बोर्ड, चार्टलगायत हेर्नुपर्ने आयोजनाका सबै रिपोर्ट राखिएका हुन्छन्,’ ढकालले भने, ‘समस्या निम्तिएको स्थानबारे प्रत्यक्ष अवलोकन गरी तत्काल निर्णय गर्न सहयोग पुग्नेछ ।’ ‘वार रुम’ मा प्रधानमन्त्रीसहित मुख्य सचिव, सरोकारवाला मन्त्री र अन्य जिम्मेवार पदाधिकारी बस्नेछन् र समस्या निम्तिएका विषयमा ठाउँका ठाउँ निर्णय लिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.