काठमाडौं, असार १: पहिलो पटक रसियाले आयोजना गरेको २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तर्गत दोस्रो दिन आज तीन वटा खेल हुँदैछन् ।
पहिलो खेल नेपाली समय अनुसार अपरान्ह ५: ४५ बजे इजिप्ट र उरुग्वे भिड्ने छन् भने दोस्रो खेल मोरक्को र इरानबीच नेपाली समय अनुसार ८:४५ बजेबाट शुरु हुनेछ । त्यस्तै पोर्चुगल र स्पेनबीचको खेल राति ११: ४५ बजे तेस्रो खेल हुनेछ ।
शुक्रबार हुने तीन खेलमध्ये स्पेन र पोर्चुगलबीचको खेल निकै नै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुवै राष्ट्र निकै नै बलियो प्रतिस्पर्धी तथा उपाधि दाबेदारका रुपमा हेरिएको छ । फिफा विश्वकपको र्याङ्किङ अनुसार पोर्चुगल चौथो नम्बरमा छ भने स्पेन १० औं नम्बरमा छ ।
यसअघि उद्घाटन खेलमा आयोजक रसियाले शानदार शुरुवात गर्यो । उसले पहिलो हाफ २-० को अग्रता बनाएको रसियाले दोस्रो हाफमा थप ३ गोल थप्दै ५-० को जित हात निकाल्यो ।
उद्घाटन खेल अघि लुज्निकी विशेष उद्घाटन समारोह चलेको थियो । उद्घाटन समारोहमा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेलाडी प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित थिए । उद्घाटन समारोहमा लुज्निकी रंगशालामा दर्शक भरिभराउ भएका थिए । विश्वभरबाट करोडौं दर्शकले टेलिभिजन लाइभमार्फत उद्घाटन शत्रको मजा लिएको फिफाले जनाएको छ ।
जारी विश्वकप प्रतियोगिता जुलाई १५ तारिखसम्म चल्ने छ ।