दोलखा, कात्तिक १३: जिल्लाको भीमेश्वर नगरपालिका–२ सोक्लामा बुधबार बिहान बोलेरो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
बा १४ च ७६७ नम्बरको बोलेरो चरिकोट आउँदै गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका ९ बर्षिया रोशनी ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी रोशनीको चरिकोट प्रस्तावित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए । उक्त दुर्घटनामा परी घाइते हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका चालक २५ बर्षिया मनु तमाङ, ३५ बर्षिय भोजबहादुर ओली, भोजबहादुरको श्रीमती ३० बर्षिया दुर्गा ओली, भोजबहादुरको छोरा ५ बर्षिय रोहन ओली र वडा नम्बर २ तिखातलको ३७ बर्षिया रञ्जनी तमाङ रहेका छन् ।
उनीहरुको प्रस्तावित चरिकोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक यज्ञनन्दन शाहले बताए ।
बोलेरोमा ९ जना रहेकोमा तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाए । बोलेरो कच्ची सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी चरिकोट लगिएको थियो ।